तराई मधेसमा राजनीतिको नाममा ‘लुट’ नीति : ओली

ओलीले नेपालमा आएकी बुहारीले सिन्दुरसंगै नागरिकता पाउँने भएपनि तिनै देशमा बिहे गरेर जाने छोरीचेलीले ७ बर्ष पर्खनु पर्ने बताए ।

मंसिर ४, २०७४-एमालेका अध्यक्ष केपी ओलीले तराई मधेसमा अहिलेसम्म राजनीतिको नाममा लुट र ठग नीति मात्रै चलेको टिप्पणी गरेका छन् । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा दुई तिहाई सिट जित्ने निश्चित भइसकेकोले अब बन्ने बाम सरकारले समग्र तराई मधेसमा विकास नीति लिएर आउने पनि उनले उल्लेख गरे । 

मोरङको क्षेत्र ४ स्थित विराटनगरको शान्ति चोकमा सोमवार बिहान आयोजित चुनावी सभामा अध्यक्ष ओलीले तराईका दिदी बहिनी अहिले पनि बोक्सीको पिडा खप्न बाध्य भएकोले आफूले जनचेतना बढाएर तराईमा विकासको खोलो बगाउने उल्लेख गरे । ‘पहाडदेखि हिमालसम्म साक्षर गाउँ र जिल्ला घोषणा भइरहेको बेलामा पनि तराईमा सबभन्दा निरक्षर रहेको छ,’ उनले भने, ‘जन्मसिद्धको आधारमा नागरिकता पाएकाहरुको छोराछोरीले नागरिकता पाउनबाट बञ्चित छन्, उनीहरुलाई बाम नेतृत्वको सरकारले कानून बनाएर मधेसको नागरिकतासम्बन्धी सम्पूर्ण समस्या समाधान गर्छ ।’  मधेसमा शिक्षा, स्वास्थ्य, रोजगारी, कुरिति, बिकृरिति सबै समस्याको समाधान अब बन्ने बाम सरकारले गर्ने उनले बताए । 

‘मधेसमा सबभन्दा बढी बोल्ने मैथिली छोडेर मधेसवादी दलका नेताहरु हिन्दी बोलेपछि कहाँबाट विकास हुन्छ?,’  उनको प्रश्न थियो । ‘यी यस्तै पार्टीहरुको कारण मधेस पछाडी परेको छ तर अब मुलुकका कुनैपनि जातजाति, क्षेत्र, जात, लिंग, धर्म, भेषभूषा जनता पछाडी रहँदैनन् । सबैको आधारभूत आवश्यक्ता पूरा हुने छन् ।’

उनले अंगिकृत नागरिकता भएकालाई राष्ट्रपति बन्ने अधिकार दिन नमान्दा एमालेलाई मधेश बिरोधी भएको प्रचार गरिएको उल्लेख गरे । उनले भने, ‘भारतमा विवाह गरेर गएका बुहारीले ७ बर्षपछि नागरिकताका लागि आवेदन गर्न पाउने व्यबस्था छ, त्यहाँ मन्त्रीसम्म पनि बन्न दिंदैनन् तर हामी कहाँ बेहुलाले एकातिर सिन्दुर दान गर्छ अर्कोतिर सिडिओले नागरिकता दिन्छ र मन्त्री त कति अंगिकृत बुहारी बने कति ।’  नेपालमा बुहारी बनेर आउने भारतलगायतका देशका छोरीहरु अंश र बंशको हकदार भएपनि ति देशहरुमा बुहारी बनेर जाने हाम्रा छोरीचेलीले त्यो अधिकार नपाएको उनको दावी थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *